घट्यो दलहरूको आम्दानी, कुन दलको बचत कति ?

काठमाडौँ । राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको आयव्ययको विवरणमा मात्रै नाफा देखाइएको छ । घाटामा चलेको विवरण देखाएका दलले मोटो रकम मुद्दती निक्षेपमा राखेका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ ।

निर्वाचन आयोगमा राजनीतिक दलले बुझाएको आव २०७९–८० को वार्षिक आयव्ययको विवरण अनुसार सङ्घीय संसद्को दोस्रो ठुलो दल नेकपा एमाले ले मुद्दती निक्षेपमा १० करोड रुपियाँ जम्मा गरेको छ । त्यसबाहेक एमालेले चार वटा कोषमा करिब पाँच करोड १३ लाख २२ हजार रुपियाँ रहेको जनाएको छ ।

तर सो पार्टीले जम्मा आयभन्दा खर्च बढी भएको विवरणमा उल्लेख गरेको छ । आयोगमा बुझाइएको विवरणमा नेकपा एमालेले जम्मा आय करिब आठ करोड ९७ लाख २२ हजार रहेको जनाएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ । सङ्घीय संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले २०७९–८० मा तीन करोड ६४ लाख ७६ हजार आम्दानी देखाएको छ । अघिल्लो आवको कांग्रेसको आम्दानी ११ करोडले घटेको छ । कांग्रेसको कुल खर्च सात करोड ९९ लाख छ ।

आव २०७९–८० मा सबैभन्दा बढी आम्दानी गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि हो । पहिलो निर्वाचनबाटै राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल सो दलले २०८० असारसम्म छ करोड ५० लाख रुपियाँ आम्दानी गरेको छ । सो दलको जम्मा खर्च करिब पाँच करोड आठ लाख छ । कर्जासहितको खुद बचत एक करोड ४५ लाख ४७ हजार रहेको रास्वापाले बुझाएको विवरणमा उल्लेख छ । सत्ता नेतृत्व गरेको माओवादी केन्द्र ले भने आव २०७९–८० मा तीन करोड ४८ लाख ४१ हजार आम्दानी गरेकोमा तीन करोड ८१ लाख खर्च गरेको छ । सो दलले बुझाएको विवरण अनुसार करिब ११ करोड रुपियाँ विभिन्न कोष र सञ्चय शीर्षकमा राखिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।