ओलीसँग नजिकिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ । अहिलेको सत्तारूढ गठबन्धनका बारेमा कांग्रेस महासमिति बैठकमा भइरहेको टीका टिप्पणी र छलफलले त्रसित प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन गरेर आफ्नो कुर्सी सुरक्षित गर्नका लागि ओलीसँग सम्बन्ध बढाएको टिप्पणीसमेत हुनथालेको छ ।

एमाले र माओवादी दुवै पार्टीमा रहेका एक समूहले कम्युनिस्ट पार्टीबिचमा एकता र गठबन्धन हुनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । सत्ता स्वार्थका कारण अलग भएका कम्युनिस्ट पार्टी अहिले पुनः सत्ता स्वार्थकै कारण मिल्न खोजेको देखिन्छ । संघीय र प्रदेश सरकार कुनैमा पनि नभएको एमाले राजनीतिक नियुक्तिलगायतका विभिन्न अवसरबाट वञ्चित हुँदै आएको छ । सोही कारण एमालेले अहिलेको सत्तारूढ गठबन्धन भत्काउन खोजेको र सरकारमा हिस्सेदार बन्न खोजेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।