सामाजिक न्यायका लागि सरकार प्रतिबद्ध छ – गृहमन्त्री श्रेष्ठ

राजविराज (सप्तरी) – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्ध नेपाल निर्माण र सामाजिक न्याय स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।खड्क नगरपालिकास्थित कल्याणपुरमा खड्क बहुमुखी क्याम्पस भवनको उद्घाटन तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले विकास र समृद्धिको प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

जनताको सामाजिक आर्थिक जीवनमा परिवर्तन ल्याउनु आजको मुख्य कार्यभार भएको भन्दै गणतन्त्र स्थापनापछि केही सकारात्मक परिवर्तन भएको उहाँको भनाइ थियो । गृहमन्त्री श्रेष्ठले सुशासनका लागि भ्रष्टाचार निर्मूल आवश्यक भएको बताउनुभयो ।

प्रहरी जनताको सेवाका निम्ति रहेकाले जनताको सुखदुःख र पीडामा उनीहरुलाई साथ दिनुपर्नेमा उहाँले जोड दिनुभयो । गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रहरी प्रशासन जनताको सेवाका निम्ति हुनुपर्छ, हामीले कडाइपूर्वक निर्देशन दिएका छौँ । कहीँ कतै समस्या देख्नुभएको छ भने खबर गर्नुस् ।”

उहाँले सबै मिटरब्याजपीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “मिटरब्याजपीडितको समस्या समस्या समाधान हुन्छ, यसका लागि हामीले कानून बनाएका छौँ । आयोग गठन गरी काम पनि गरिरहेका छौँ । सबै पीडितले न्याय पाउनुहुन्छ”, उहाँले भन्नुभयो ।