अमलेखगन्जमा ड्युटीमा खटिएका ट्राफिक जवानको बसको ठक्करबाट मृत्यु

पूर्वपश्चिम राजमार्गमा पर्ने बाराको जितपुर सिमरा उपमहानगरपालिस्थित अमलेखगञ्ज चोकमा गएराति डियुटीमा खटिएका एकजना ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ।

शुक्रबार राति सवा नौ बजे काठमाडौंबाट काँकरभिट्टा जाँदै गरेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगन्जमा कार्यरत ट्राफिक प्रहरी जवान २९ वर्षीय मुनटुन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए।

‘राति चेकिङमा खटिएको बेला बसले ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै उपचारको लागि वीरगञ्ज लगिएको थियो,’ प्रहरी निरीक्षक गुरुङले नेपालखबरसँग भने, ‘वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा राति नै उनको मृत्यु भएको हो।’

ठक्कर दिने बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ। उनले बसको ब्रेक नलागेका कारण यादवलाई ठोक्किएको बयान दिएका छन्।

मृतक यादवको शव पोष्टमार्टको लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको इन्सपेक्टर गुरुङले जानकारी दिए।झण्डै नौ वर्ष प्रहरी सेवामा विताएका यादवको घर पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुरमा छ।