काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन् ।घाइते को प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

सुमो अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेको जनाइएको छ । उक्त गाडीमा आठ महिला र दुई जना पुरुष सवार थिए । जसमध्ये तीन जना महिलाको अवस्था जटिल रहेको र अन्य सातको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । गाडी घटनास्थलमा नै रहेको छ ।