कपडामा लेपन गरिएको सुनसहित दुई भारतीय पक्राउ

काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडामा लेपन गरिएको सुनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट आइतबार साँझ काठमाडौं उत्रिएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेका हुन् ।

विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट (स्वागतद्वार) नजिक आइसकेका उनीहरुलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवैजनाले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाका अनुसार सुनको कति मात्रा छ भन्ने खुलेको छैन । दुवैले लगाएको कपडासहित जोख्दा पाँच केजी रहेको जनाइएको छ ।