नक्कली पत्रकारको सहायता लिंदै लागूऔषध तस्करी

काठमाडौं  प्रेस लेखेपछि प्रहरीले चेकिङमा कडाई नगर्ने ठानेर लागूऔषध कारोबारीले आफु पत्रकार भएको भन्दै प्रहरीलाई झुक्याएर लागूऔषध कारोबार गरेको प्रहरीले जनाएको छ । त्यस्ता दुई जना काठमाडौंमा पक्राउ परेका हुन् ।

धनुषा घर भई सिनामंगल बस्ने राजकुमार चौधरी र बसन्तपुर बस्ने मोहम्मद साहिदलाई महानगरीय प्रहरी जनसेवाले पक्राउ गरेको हो। चौधरी कारोबारी र सहिद लागूऔषध सेवनकर्ता हुन्।

उनीहरुबाट कोडिन ३५ बोतल बरामद भएको छ। ज ७ प १४०७ नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर चौधरीले चलाएका थिए। त्यही मोटरसाइकलमा लागूऔषध ओसार पसार गर्दथे।

पक्राउ परेका चौधरीले विभिन्न मितिमा ४ लाख भन्दा धेरै मनि ट्रान्सफरबाट पैसा पठाएको भौचर समेत बरामद भएकाले उनी ठूला कारोबारी भएको प्रहरी आशंका छ।