नेपालको पहिलो ऐतिहासिक एकदिवसीय क्रिकेट खेल आज, नेदरल्यान्ड्ससँग भिड्दै

नेपाल भर्सेस द नेदरल्यान्ड्स
स्थान – भिआरए मैदान, आम्सटर्डम
खेल – पहिलो एकदिवसीय क्रिकेट
मिति– १६ साउन
समय– दिउँसो २ः४५ बजे

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशकपछि नेपालले बुधबार नेदरल्यान्ड्ससँग खेलेर अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा डेब्यू गर्न लागेको छ । नेपालले आज ऐतिहासिक पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दैछ।
साढे चार महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटपछि पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको थियो।
कान्छो एकदिवसीय राष्ट्र नेपालले बुधबार नेदरल्यान्ड्ससँग एकदिवसीय खेल खेलेर इतिहास बनाउन लागेको हो। खेल आज दिउँसो २ः४५ बजे भिआरए मैदान, आम्सटर्डममा हुनेछ।
नेदरल्यान्ड्सको निमन्त्रणामा आम्सटर्डम पुगेको नेपाली टिमको नेतृत्व पारस खड्काले गर्ने छन्।
एकदिवसीय मान्यता पाएर पहिलो खेल खेल्न लागिरहेको नेपाली टिम पछिल्लो ८ वर्षको अन्तरमा अनुभवी समेत बन्दै गइरहेको छ। तर नेपालले पहिलो एकदिवसीय खेल खेल्न लागेको नेदरल्यान्ड्स बढी अनुभवी छ। चार वर्षअघिसम्म उसले ७९ एकदिवसीय खेलिसकेको थियो। नेदरल्यान्ड्सको टिममा कप्तान पिटर सिलार, वेस्ली बारेसी, स्टेफिन माइबुर्घ, म्याक्स ओडोउड, मिचेल रिप्पफक्षन र पाउल भान मीकेरेन जस्ता प्रतिभावान खेलाडीको जमघट छ। नयाँ खेलाडीले पनि डच टिम थप बलियो बनेको छ। त्यसैले नेपालका लागि पहिलो एकदिवसीय खेल सजिलो भने हुनेछैन।