जोशीबारे आज निर्णय होला ?

काठमाडौँ । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे छलफल गर्न बुधबारका लागि बोलाइएको बैठकमा सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसले कसरी प्रस्तुत हुने भन्ने छुट्टाछुट्टै रणनीति बनाएका छन् । नेकपाले बुधबार निर्णय हुने गरी बैठकमा प्रस्तुत हुने रणनीति बनाएको छ ।

जोशीलाई अस्वीकृत गर्नेतिर समिति जान खोजे बैठक बहिष्कार वा छानबिन उपसमिति बनाउने विकल्पतर्फ लाग्ने कांग्रेसको योजना छ ।

‘बुधबारको बैठकबाट सहमतिमै यी सबै विषय टुंग्याउनुपर्छ भन्ने हाम्रो जोड छ,’ नेकपाका सांसद योगेश भट्टराईले भने । जोशीको प्रमाणपत्रलगायत अन्य विषयमा थप प्रमाण जुटेकाले उनलाई अस्वीकार गर्ने नेकपाको लाइन परिवर्तन भएको छैन ।

कांग्रेस संसदीय दलकी सचेतक एवं सुनुवाइ समितिकी सदस्य पुष्पा भुसाल भने आरोपको प्रमाण र तथ्यले पुष्टि नहुँदासम्म समितिले जोशीको सुनुवाइ अस्वीकृत गर्न नसक्ने बताउँछिन् । ‘जोशीमाथि लागेको आरोपको पुष्टि हुने कुनै प्रमाण र तथ्य छैन । त्यसउपर छानबिनका लागि उपसमिति पनि बनेको छैन,’ भुसालले भनिन्, ‘दुई तिहाइ संख्याको भरमा मात्रै अस्वीकृत गर्न मिल्दैन । उनीमाथि लागेको आरोप तथ्य र प्रमाणले पुष्टि हुन सक्नुपर्छ ।’

उनले दुई तिहाइको बलमा अस्वीकृत भए स्वतन्त्र न्यायालयमा कार्यकारणीको छाया पर्ने बताइन् । समितिको कार्याविधिअनुसार समितिले गर्ने कुनै पनि काममा आवश्यक देखिए उपसमिति गठन गर्न सक्ने उल्लेख छ । कान्तिपुर दैनिकले छापेको छ ।