बाँध निर्माणका कारण बाढी र कटानको जोखिम कम

झापा । झापाको गौरादह नगरपालिकास्थित रतुवा खोलामा बाँध निर्माणपछि बाढी र कटानको जोखिम न्यून भएको छ । गौरादह–५ स्थित रतुवा खोलामा आएको बाढी र कटानबाट बर्सेनि यहाँका बासिन्दा पीडित हुँदै आएका थिए । गत वर्ष १००–१०० मिटर र यस वर्ष थप १५० मिटर बाँध निर्माण भएसँगै जोखिम न्यूनीकरण हुँदै गएको बाँध निर्माण तथा संरक्षण समितिका अध्यक्ष मदन अधिकारीले बताउनुभयो ।
“स्थानीयवासी स्वयंको सक्रियतामा बाँध निर्माण भएको छ,” अध्यक्ष अधिकारीले भन्नुभयो, “सरकारीस्तरबाट प्रभावकारी सहयोग भएको छैन । बाँध निर्माण भएसँगै २०० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् भने करीब ५०० बिगाहा जमिनमा कटानको जोखिम कम भएको छ । ”
बाँध निर्माणका लागि ‘जनताको तटबन्धन कार्यक्रम’अन्तर्गत गत वर्ष ३० हजार र यस वर्ष १० हजार थान खाली बोरा उपलब्ध गराइएको थियोे भने छ मिटर पक्की बाँध निर्माण भएको थियोे । गत वर्ष बाँध निर्माणका लागि गौरादह नगरपालिकासमेत रू दुई लाख बजेट उपलब्ध गराएको नगरसदस्य गोमा चेम्जोङले जानकारी दिनुभयो ।