चरनक्षेत्र जोगाउन चिउरी रोप्दै

रत्ननगर । मौरीको चरनक्षेत्र जोगाउन मौरीपालक किसानहरूले चिउरीका विरुवा रोप्न शुरू गरेका छन् ।
भण्डारास्थित मौरीपालन विकास कार्यालयले उत्पादन गरेको विरुवा विभिन्न जिल्लाका किसानले लगेर रोपेको कार्यालय प्रमुख शिव रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार भण्डाराबाट अहिलेसम्म किसानले ३४ हजार चिउरीका विरुवा लगिसकेका छन् । किसानले दाङमा १० हजार चितवनमा पाँच हजार, मकवानपुरमा पाँच हजार, रौतहटमा तीन हजार, सर्लाहीमा पाँच हजार, बाँकेमा दुई हजार ५००, भक्तपुरमा तीन हजार विरुवा वितरण भएको कार्यालयकोे तथ्यांकमा उल्लेख छ ।
रुपन्देहीलगायत विभिन्न जिल्लाका किसानले छुट्टाछुट्टै रुपमा ५० हजार १०० चिउरीका विरुवा लगेर रोपको कार्यालयका प्राविधिक सहायक बाबुराम पन्तले बताउनुभयो ।

मह उत्पादनका लागि चिउरीको रस महत्वपूर्ण मानिन्छ । चिउरीको मह औषधिको रुपमा समेत प्रयोग हुने भएकाले उभोक्ताले बढी मन पराउँछन् । पछिल्लो समयमा मौरीको चरनक्षेत्र नास हुँदै गएकाले चरनक्षेत्र जोगाउन यसरी चिउरी रोप्न थालिएको सम्बद्ध किसानले बताए । राज्यले नै नीति ल्याएर चरनक्षेत्र जोगाउनुपर्ने उनीहरुको धारणा थियो ।
अधिकांश मौरीपालक किसानले स्थानीय पहाडी क्षेत्रका सामुदायिक वनसँग सहकार्य गरेर चिउरीका विरुवा रोपेको नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
चितवनको चेपाङ गाउँ सिद्धिको बटौली सामुदायिक वनलगायत क्षेत्रमा मौरीपालक किसानको सहभागितामा वृक्षारोपण भइसकेको उहाँको भनाइ थियो। सो वृक्षारोपणमा चेपाङको समेत सहभागिता थियो ।

नेपाल मौरीपालक संघ चितवन शाखाका अध्यक्ष रोशन पण्डितले पछिल्लो समयमा खेतीबालीमा बढ्दो विषादीका कारण मौरीको चरन प्रभावित भएको र उचित संरक्षण नहुँदा प्राकृतिकरुपमा रहेका चरन क्षेत्रसमेत घट्दो क्रममा रहेको बताउनुभयो ।