फ्राइडे रिलिजः देशव्यापी प्रदर्शन हुँदै ‘कायरा’

काठमाडौं नेपाली फिल्म धेरै आउँछन र थोरै मात्र दर्शकको मन जितेर जान्छन् । यस्तैमा फिल्म कायराको पनि ठूलो अपेक्षा गरिएको छ  । आर्यन फिल्मसको ब्यानरमा बनेको फिल्म ‘कायरा’ आजबाट देशव्यापी प्रदर्शन भएको छ । अभिनेता आर्यन सिग्देलको स्क्रिप्टमा तयार भएको फिल्म ‘कायरा’ नामकै कारण पनि केही पृथक मानिएको छ ।

फिल्मको नामका सम्बन्धमा अभिनेता आर्यनले केही दिनअघिको पत्रकार भेटघाटमा भने, ‘कायरा शब्दको अर्थ फरक–फरक भाषामा फरक–फरक लाग्ने गर्छ। तर, मैले मेरो स्क्रिप्टमा कायरा शब्द ‘ग्रिक’ भाषाबाट राखेको हुँ। जसको अर्थ हुन्छ, जूनजस्तै अटल, निर्दोष अनि प्रिय महिला।’ यही निर्दोष र प्रिय महिलासँगको प्रेम कथामा आधारित फिल्म हो कायरा ।

साम्रज्ञीले यसअघि अभिनय गरेका फिल्महरु ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ हेरेर प्रभावित बनेका आर्यनले फिल्ममा साम्राज्ञीको विकल्प खोज्नै चाहेनन् । फिल्ममा आर्यन स्वयंले कायरालाई साथ दिन जयको भूमिका निर्वाह गरेका छन् । यद्यपि, आर्यनले दर्शकमाझ अभिनय र उपस्थितिका हिसाबमा कायराको प्रभाव हावी हुने अनुमान गरेका छन् ।

फिलिपिन्स र नेपालमा छायांकन गरिएको फिल्ममा साम्राज्ञीको प्रेमी (जय)को रुपमा आर्यन आफैं उपस्थित छन् । पछिल्लो समय आर्यनको चकलेटी अभिनय दर्शकले रुचाइरहेका छैनन् । गत कात्तिकमा प्रदर्शनमा आएको फिल्म ‘रुद्रप्रिया’मा रेखासँग देखिएका आर्यनले खासै सफलता पाउन सकेनन् । त्यसो त ‘आर्यनले आफ्नो स्टारडम जोगाउन नाम चलेकी नायिका साम्राज्ञीलाई अपोजिटमा उभ्याएका हुन्’ भन्ने गसिपसमेत हुँदै आएको छ । हेरौ फिल्म कायराले दर्शकको मनमा कस्तो छाप छोड्ला त्यो भने आइहाल्ने छ ।