क्यान्सरपीडित बालकलाई सहयोग

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१४ का रक्त क्यान्सरबाट पीडित बालक अर्जुन गौतमको उपचारका लागि छिमेकी र गाउँवासीले आर्थिक सहयोग गरेका छन् ।
रक्त क्यान्सर पीडित अर्जुन बचाउ अभियानअन्तर्गत कुश्मा नगरपालिका वडा नं ११ र १४ वासी छिमेकी र गाउँलेबाट सङ्कलन गरिएको रकमको दोस्रो किस्ताबापतको आर्थिक सहयोग पीडितलाई हस्तान्तरण गरिएको छ ।
छिमेकी र गाउँले मिलेर गठन गरेको ‘अर्जुन बचाउ अभियान’ले सङ्कलन गरेको रु एक लाख ८८ हजार १७७ शनिबार हस्तान्तरण गरिएको स्थानीयवासी सुरेन्द्र शर्मा गौतमले जानकारी दिनुभयो । अभियानले गौतमको उपचारका लागि रु दुई लाख ८७ हजार ७७१ सङ्कलन गरेको थियो । पहिलो किस्ताको रकम यसअघि नै हस्तान्तरण गरिएको थियो ।
सहयोगका लागि स्थानीय गोविन्द पौडेलको अध्यक्षतामा मूल समिति गठन गरी देश विदेशमा सामाजिक सञ्जालसमेत प्रयोग गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो ।
उनको उपचारमा रु २० लाख खर्च लाग्ने बताइएको छ । अहिलेसम्म झण्डै रु १५ लाख सहयोग सङ्कलन भइसकेको छ । कुश्मा नगरपालिका–११ पकुवामा रहेको वीरेन्द्र माविमा कक्षा ९ मा अध्ययनरत् पीडित बालकको एक वर्षदेखि भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ ।