‘राधा’को सिक्वेलमा प्रियंका

काठमाडौं । जीवन लुइटेल र सञ्चिता लुइटेलको मुख्य भूमिका रहेको नारी प्रधान चलचित्र “राधा” को सिक्वेल राधा–२ बनाउने घोषणा गरिएको छ । सिक्वेल चलचित्र राधा–२ मा पुराना कलाकार दोहोरिने सम्भावना भने निकै कम देखिएको छ । नायिका सञ्चिता लुइँटेलको ठाउँमा प्रियंका कार्कीले इन्ट्री मारेकी छिन् ।
योगेश घिमिरे निर्देशित यस चलचित्रको दोस्रो पार्टका लागि यतिबेला प्रि–प्रोडक्शनको काम भइरहेको छ । ‘राधा २’ नाम तय गरिएको फिल्ममा पुराना कलाकार अटेका छैनन् ।
दोस्रो भागमा यी दुई अभिनेता–अभिनेत्री नहुने पक्कापक्की भै सकेको छ । संचितालाई अभिनेत्री प्रियंका कार्कीले ओभरटेक गरेकी हुन् । ‘राधा २’ मा दुई नायक हुने निर्देशक घिमिरेले बताए । उनका अनुसार, एक नयाँ र एक चल्तीका नायक फिल्मका लागि अनुबन्ध भइसकेको जानकारी दिए । ती दुई अभिनेताको नाम भने अहिले सम्म निर्माण पक्षले गोप्य राखेको छ । फिल्मको नाम सापटी लिएपनि कथा फरक हुने निर्देशक घिमिरेले बताए ।
भाद्र २५ गतेबाट फ्लोरमा जान लागेको फिल्ममा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । प्रदिप भारद्धाजले फिल्मको कथा लेखेका हुन् भने संजय न्यौपानेले निर्माण गर्ने ‘राधा २’ नारी प्रधान मानिएको छ । २ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र राधाले नेपाली बजारमा राम्रै व्यापार गरेको थियो ।