हत्याको आरोप लागेका राज्य मन्त्रीले गरे आत्मसमर्पण

काठमाडौं । प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले अदालत समक्ष आत्म समर्पण गरेका छन् । २०७२ भदौ २५ गते सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत असई थमन विकको मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट हत्या गरिएको थियो । उक्त हत्यामा संलग्न प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वरसमक्ष आत्मसमर्पण गरेका छन् । उक्त मुद्दाका फरार अभियुक्त मानिएका शर्माले सोमबार आत्मसमर्पण गरेका हुन् । उनले आफ्ना कानुन व्यावसायी रमेशकुमार पाण्डेमार्फत निवेदन दिँदै आत्मसर्मण गरेका छन् ।

उनले अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफू अदालतसमक्ष उपस्थित भएको निवेदनमा उल्लेख गरिएको छ । उच्च अदालतको आदेश प्राप्त भएपछि आफू अदालत उपस्थित भएको उनको निवेदनमा जिकीर गरेका छन्।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरी उच्च अदालतमा मुद्दा विचाराधीन रहेको समयमा २ नम्बर प्रदेशले उनलाई राज्यमन्त्रीमा सपथ गराएको थियो । सपथलगत्तै उच्च अदालत धनुषाले उनलाई अदालत हाजिर हुन भनेको थियो । अदालतमा उपस्थित नभएपछि पक्राउ गर्न प्रहरीको नाममा आदेश जारी गरेको थियो।