ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गर्दै बनेको नेकपा खारेज भएको छ । पार्टी विवादमा सर्वोच्च अदालतमा परेको मुद्दाको फैसलाले ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेसँगै अव उनीहरु पूर्ववत अवस्थामै फर्किने वा पुन प्रक्रिया पुर्याएर पार्टी एकता गर्ने विकल्प रोज्न बाध्य भएका छन् । पूर्ववत भन्नाले नेकपा एमाले र माओवादी केन्द्रको हैसियत भन्ने बुझिन्छ ।

२०७४ सालमा भएको निर्वाचनमा चुनावी गठबन्धन गरेर यी दुई दलले प्रतिनिधि सभामा १७४ सिट जितेका थिए ।  जसमा पूर्व एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो भने समानुपातिकतर्फ ४१ सिट जितेको थियो । यसरी हेर्दा पूर्व एमालेको जम्मा सिट सङ्ख्या अब १२१ कायम हुने देखिन्छ  भने नेकपा माओवादी केन्द्रको प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेकाले जम्मा ५३ सिट हुने देखिन्छ ।