कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिले जनताको समस्या केन्द्रित गर्ने संसद् प्रतिपक्षीको कारण राम्रोसँग चल्न नसकेको बताउनुभएको छ ।समाजवादी प्रेस सङ्गठनको दोस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रतिपक्षीले गरेको संसद् अवरोध ठीक तथा बेठीक थियो भन्ने समाचार नागरिकलाई सञ्चार जगत्ले प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्मका राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो औँल्याउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा नेपाली विशेषताको समाजवाद कार्यान्वयनका लागि सुशासनको प्रत्याभूति, राष्ट्रिय पूँजीको विकास र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रियता संरक्षण, जनअधिकार, वामपन्थी दलमा देखापरेका विचलन र उनीहरूमा पूँजीवादी चरित्रको बढ्दो प्रभाव, विकास हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी प्रभाव देखापरेकाले आफ्नो दललाई त्यसबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो । पूँजीवादी चरित्रको अन्त्य गर्न आम कम्युनिष्टलाई एकीकृत गर्नुपर्ने भन्दै उहाँले जनतालाई समाजवादी रूपान्तरणका लागि दिशानिर्देशन गर्न सकिने बताउनुभयो ।

पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठन सुदृढीकरण, पार्टीको भावी रणनीति, जनताको सेवा, सुशासन, समाजवादी व्यवस्थाका सम्भाव्यतालगायत विषयमा पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो । सो अवसरमा विभिन्न सङ्गठनका प्रतिनिधिले स्थपना दिवसको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।