एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत — नेकपा (एमाले)ले कर्णाली प्रदेश  सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार वीरेन्द्रनगरमा बसेको एमाले संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शाहीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

नेकपा गठनअघि २०७४ फागुनमा तत्कालीन एमालेले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको लागि माओवादी केन्द्रका संसदीय दलका नेता शाहीलाई समर्थन दिएको थियो । उक्त धारामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने उल्लेख छ । तत्कालीन अवस्थामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसदको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे।

बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा दलको बैठक बसेको थियो । बैठकमा दलका २० (सभामुखसहित) सदस्यमध्ये केपी ओली समूहका १० सांसद उपस्थित रहेका दलका सचेतक गुलाबजंग शाहले बताउनु भएकाे छ । बैठकले एमालेको तर्फबाट सरकारमा गएका तीनजना मन्त्री प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढालाई पनि फिर्ता बोलाउने निर्णय गरेको उहाँले जानकारी दिनुभएकाे छ । दलको बैठकमा तीनजना मन्त्रीका साथै माधव नेपाल समूहका सांसद भने सहभागी थिएनन् ।

समथर्न फिर्ता लिएपछि शाही नेतृत्वको सरकार संकटमा परेको छ । शाहीसँग अब राजीनामा दिने वा प्रदेश सभाबाट विश्वासको मत लिने विकल्प छन् । यद्यपि वर्तमान सरकारको भविष्य वा नयाँ सरकार गठनको सम्भावना एमालेभित्र नेपाल समूहले लिने निर्णयमा निर्भर हुनेछ ।