जसपाको पहलमा नागरिकता समस्या समाधान भयो : अध्यक्ष यादव

गौर-जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको पहलमा नागरिकता समस्या सामाधान भएको दाबी गर्नुभएको छ । काठमाडौँमा सुरु भएको पार्टीको विधान अधिवेशन उद्घाटन गर्दै उहाँले जसपाकै कारण देशमा सङ्घीयता आएको जिकीर पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएन । नेपालमा सङ्घीयता कहिल्यै आउने थिएन । जसपा नभइदिएको भए धर्मनिरपेक्षता, समावेशिताजस्ता कुरा कल्पनाका कुरा मात्रै हुने थिए ।”

अध्यक्ष यादवले सरकार र गठबन्धन निरन्तर अघि बढ्नुपर्ने धारणासमेत राख्नुभयो । उहाँले अहिलेको सरकार निरन्तर कायम रहनुपर्ने धारणा राख्नुभयो । उहाँले थप भन्नुभयो, “अहिले हामी सरकारमा छौँ । हामी चाहन्छौँ यो सरकार निरन्तर आफ्नो समयसम्म रहोस् र यो गठबन्धन अगाडि बढोस् ।”

सोही पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षामन्त्री अशोककुमार राईले पार्टी एकतापछिका आठ वर्षसम्म एकताकै प्रक्रिया निरन्तर चलेको बताउनुभयो । उहाँले एकतापछि बल्ल अहिले आएर पार्टीको यौगिकताको चरण पूरा हुने अवस्थामा पुगेको बताउनुभयो ।

जसपा नेपालको विधान अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ । पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय ६ जना सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनीत हुने १० जनासहित सात सय ६१ जना प्रतिनिधिहरु सहभागी भएका छन् ।

यसैगरी, सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिने छ भने छलफल सकिएपछि विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाइएको प्रमुख बस्नेतले बताउनुभयो ।