ब्राजिल र अर्जेन्टिनाको ‘ड्रिम फाइनल’ तय

२३ असार, काठमाडौं । सबैको अपेक्षा अनुसार नै विश्व फटबलका दुई चर्चित राष्ट्र ब्राजिल र अर्जेन्टिना ४७औं संस्करणको कोपा अमेरिकाको फाइनल भिड्ने भएका छन् ।

बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै ब्राजिलसँग फाइनल भिडन्त तय गरेको हो ।

गोलकिपर एमिलियानो मार्टिनेज नायक बन्दै ३ पेनाल्टी रोकेपछि अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हरायो ।

त्यसअघि साविक विजेता तथा घरेलु टोली ब्राजिलले गत संस्करणको उपविजेता पेरुलाई हराएर फाइनलमा स्थान पक्का गरिसकेको छ ।

अब आइतबार बिहान माराकान स्टेडियममा ब्राजिल र अर्जेन्टिनाबीच फाइनल खेल हुनेछ ।

२०२० मै तय भएको कोपा कोरोना महामारीले गर्दा एक वर्षपछि भएको थियो । शुरुमा अर्जेन्टिना र कोलम्बिया नै यस संस्करणको आयोजक थिए तर कोलम्बियामा प्रदर्शन र अर्जेन्टिनामा कोरोना महामारीको प्रभावका कारण ब्राजिल नयाँ आयोजक बन्यो ।

दक्षिण अमेरिकाका १० टिम सहभागी प्रतियोगितामा ब्राजिल र अर्जेन्टिना अपराजित बन्दै फाइनल पुगेका हुन् ।

अर्जेन्टिनाले १४ पटक कोपाको उपाधि जितिसकेको छ र यस पटक च्याम्पियन बने सर्वाधिक १५ पटक जित्ने उरुग्वेको कीर्तिमान बराबरी गर्नेछ ।

सर्वाधिक ५ पटक फिफा विश्वकप जितेको ब्राजिलले भने ९ पटक मात्र कोपा जितेको छ र सर्वाधिक उपाधि जित्नेमा तेस्रो स्थानमा छ ।

अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लो पटक कोपा जितेको थियो । त्यसयता कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । २००४ यता अर्जेन्टिनाले चार पटक कोपाको फाइनल र एक पटक विश्वकपको फाइनल खेलिसकेको छ । ब्राजिलले भने २१औं शताब्दीमै ३ पटक कोपा अमेरिकाको उपाधि जितिसकेको छ । सन् २००४ र २००७ को फाइनलमा अर्जेन्टिनालाई हराएर ब्राजिलले उपाधि जितेको थियो । अर्जेन्टिना त्यसपछि पनि दुई पटक फाइनलमा पराजित भयो । अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

२०११, २०१५ र २०१६ मा राम्रो प्रदर्शन गर्न नसकेको ब्राजिलले २०१९ मा घरेलु मैदानमै उपाधि जितेको थियो .

ब्राजिल र अर्जेन्टिना १४ वर्षपछि कोपा अमेरिकाको फाइनल आमन सामने हुने भएको छ ।

वर्तमान विश्वकप फुटबलका स्टार खेलाडी लिओनल मेस्सीको कप्तानीमा अर्जेन्टिना यस पटक उपाधि जित्दै झण्डै तीन दशकको उपाधि खडेरी तोड्ने लक्ष्यमा छ । ब्राजिल भने घरेलु मैदानमै फेरि च्याम्पियन बन्न चाहन्छ ।

सेमिफाइनलमा पेरुलाई हराएपछि ब्राजिलियन स्टार नेयमारले पनि फाइनलमा अर्जेन्टिनासँग खेल्न चाहेको प्रतिक्रिया दिएका थिए ।

मेस्सी र नेयमारले स्पानिस क्लब बार्सिलोनामा केही वर्ष सँगै बिताएका थिए । अब कोपामा भने यी दुई खेलाडी एक अर्काविरुद्ध मैदान उत्रनेछन् । मेस्सीले पनि आफूहरु साथी भएकोले नेयमारले म पनि त्यहाँ होस् भन्ने चाहेको बताएका छन् ।

मेस्सीलाई फाइनलमा हार्नुको पीडा राम्रोसँग थाहा छ । सन् २००७, २०१५ र २०१६ मा फाइनल हार्दा मेस्सी अर्जेन्टिनी टिमको सदस्य थिए । पछिल्लो दुई फाइनल मेस्सी नै कप्तान थिए ।

उता नेयमारले २०१९ को कोपा चोटका कारण गुमाएका थिए । त्यसैले दुवै खेलाडी कोपाको ट्रफी चुम्नका लागि आतुर छन् ।

कोपाको फाइनल इतिहास हेर्दा अर्जेन्टिना हाबी देखिन्छ । ब्राजिल र अर्जेन्टिनाले कोपाको फाइनलमा अहिलेसम्म १० पटक भिड्दा ८ पटक अर्जेन्टिनाले जितेको छ । ब्राजिलले अर्जेन्टिनाविरुद्ध दुई फाइनल मात्र जितेको छ ।

अहिलेसम्म २८ पटक फाइनल खेल्दा अर्जेन्टिना १४ पटक च्याम्पियन र १४ पटक नै उपविजेता बनेको छ । यस्तै २० पटक फाइनल पुगेको ब्राजिलले ९ पटक उपाधि जित्दा ११ पटक उपविजेता बनेको छ । जसमा ८ पटक अर्जेन्टिनासँग नै पराजित भयो भने  दुई पटक उरुग्वे र एक पटक पाराग्वेसँग पराजित भएको छ ।

एउटा रमाइलो संयोग के छ भने ब्राजिलले अहिलेसम्म घरेलु मैदानमा खेलेको सबै कोपाको उपाधि जितेको छ । सन् १९१९, १९२५, १९२९, १९३७ र २०१९ मा आयोजक हुँदा ब्राजिलले उपाधि जितेको थियो । के यसपटक अर्जेन्टिनाले त्यो इतिहास तोड्ला ?

२०१९ को कोपा को सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिना १९ खेलसमम्म अपराजित छ । ब्राजिललाई अन्तिम पटक हराउने टिम पनि अर्जेन्टिना नै हो । २०१९ को नोभेम्बरमा अर्जेन्टिनासँग हारेयता ब्राजिल १३ खेलसम्म अपराजित छ ।