आयोगले बढायो एमबीबीएस अध्ययनको शुल्क

१७ जेठ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा.भोजराज काफ्लेले जानकारी दिए ।

गत सालको समग्र मूल्यवृद्धिलाई आधार मानेर शुल्क निर्धारण गरिएको सदस्य सचिव डा.काफ्लेले बताए । उनले भने ‘हामीले गत वर्षको मुद्रास्फीति प्रतिशतलाई आधार मानेर शुल्क निर्धारण गर्ने निर्णय गरेका छौं ।

शैक्षिक सत्र २०७७/७८ मा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यका भित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २ सय ५० रूपैयाँ शुल्क तोकेको थियो ।

तर चालु शैक्षिक सत्रमा ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ । उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँबाट बढेर ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुगेको छ ।

त्यस्तैब बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २८४ पुगेको छ । बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकामा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको छ ।