काठमाडौंका तीन क्षेत्रमा रास्वपाको जित

७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ ।

काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो स्थानमा रहिन् ।

दोस्रो भएका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलको पक्षमा ११ हजार १४ र ओनसरीको पक्षमा ९ हजार ४४९ मत पर्यो ।

काठमाडौं ७ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह)ले ६ हजार ६३ मत पाइन् ।

क्षेत्र नम्बर ७ को प्रदेश सभा ‘क’ मा एकीकृत समाजवादीका बसन्त मानन्धर ४ हजार १५३ मतसहित विजयी भएका छन् । यसैगरी प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ ५ हजार २१८ मतसहित विजयी भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएका छन् ।

त्यसैगरी काठमाडौं ८ को प्रदेशसभा ‘ख’ मा राप्रपाका उद्धव थापा विजयी भएका छन् ।