संसदमा प्रधानमन्त्रीको जवाफ– मधेश प्रदेशमा बजेट कम दिएको भन्ने सत्य होइन

काठमाडौं, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा मधेश प्रदेशमा कम बजेट दिएको भन्ने सत्य नरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम मधेश प्रदेशलाई विनियोजन गरेको जानकारी दिए ।

सांसद अजयकुमार चौरासियाको प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘मधेशमा कम बजेट विनियोजन भयो भन्ने साँचो होइन, संघीयताको मर्मबमोजिम संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेशमै जाने गरेको छ । त्यसका अतिरिक्त संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरू काम गर्दै आएको छ । आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको छ ।

मधेश प्रदेशमा विभिन्न योजनाका लागि बजेट छुट्याएको बताउँदै उनले पर्साको वीरगञ्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराज बहुमुखी क्याम्पस लगायत त्यहाँको पुर्वाधार विकासमा समेत बजेटको प्रबन्ध गरिएको  बताए ।