सरकारले आयोजना गरेको कार्यक्रममा नै जातीय बिभेद !

कालिकोट । मुलुकी ऐनले नै जातीय बिभेद र छुवाछुत लाई अन्त्य गर्ने नियम कानुन बनाए पनि २१ औ शताब्दीमा आएर झनै यस्ता घटनाहरु नयाँ नयाँ किसिमले घटिरहेका छन् । अब त हुँदा हुँदा सरकारले आयोजना गरेको कार्यक्रममा नै जातीय बिभेद देखिन थालेको छ । दलित समुदायबाट प्रतिनिधित्व भएको भन्दै कालीकोटमा प्रमुख अतिथि बिना नै कार्यक्रम गरिएको छ ।

यो घटना कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको रहेको छ । उक्त गाउँपालिकामा हुन गईरहेको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा जिल्ला समन्वय समिति कालिकोटकी उपप्रमुख मिना रावत बिश्वकर्मा समन्वय समितिको तर्फबाट कार्यक्रममा उपस्थित भएकी थिईन् । उनी त्यहाँ पुग्ने बित्तिकै गाउँपालिकाले उनलाई महिला ति माथि दलितको पत्नी भएको भन्दै प्रमुख अतिथि नै नबनाई कार्यक्रम उद्घाटन गरेको छ ।

सार्वजनिक कार्यक्रममा यसरी खुलेआम दलित भनेर बिभेद गरिनु एकदमै संकीर्ण सोच र साँघुरो मानसिकता रहेको उनको भनाई छ । दलितको श्रीमती भएकै कारण प्रमुख अतिथि बिहिन कार्यक्रमको उद्घाटन गर्नु सिंगो दलित र महिला समुदायकै अपमान भएको मिनाले बताईन् । उनले भनिन्– स्थानीय सरकारले नेतृत्व गरेको कार्यक्रममा नै यस्ता जातीय तथा लैंगिक बिभेदकारी सोचाई र मानसिकताले महिला र दलितहरुको अपमान भएको छ ।

यस बिषयलाई लिएर जिल्ला नागरिक कार्य समुहले ध्यानाकर्षण भएको जनाएको छ । समुहले एक प्रेस बिज्ञप्ति नै जारी गर्दै घटनाको सत्य तथ्य छानबिन गरि दोसिमाथि कार्बाहीको माग गरेको छ । साथै बिज्ञप्ति मार्फत यस्ता घटनाहरु दोहोरिन नदिन सरोकारवाला निकायहरुसंग जोडदार माग समेत गरिएको छ ।