राष्ट्रपतिका लागि दुई पूर्वसभामुखको भीडन्त

काठमाडौं । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा दुई जना पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएको छ ।राष्ट्रपति पदमा नेपाली कांग्रेससहितका आठ दलले पूर्वसभामुखसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो ।

राष्ट्रपतिका दुवै उम्मेदवारले शनिबार संसद भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । २५ फागुनमा राष्ट्रपति चयन गर्न मतदान हुँदै छ ।

कांग्रेससहित आठ दलका तर्फबाट उम्मेदवार बनेका पौडेललाई सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको मुख्य साथ छ । यसैगरी एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ पौडेलले पाएका छन् ।

यस्तै, एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरू कुनै पनि दल खुलेका छैनन् । तर, एमाले नेताहरूले भने १० पुसमा भएको सहमतिअनुसार नै राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रसहितको साथ पाउने अपेक्षामा छ ।

राष्ट्रपति पदका लागि कांग्रेसबाट उम्मेदवार बनेका पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान छन् । यस्तै, समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे छन् ।

एमाले उम्मेदवार नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकहरूमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन् ।

राष्ट्रपतिका लागि कांग्रेससहित आठ दलको साथ पाएका पौडेल ३ पुस २०५१ देखि ९ चैत २०५५ सम्म सभामुख थिए । यस्तै, नेम्वाङ १२ साउन २०६५ देखि १४ जेठ २०६९ सम्म पहिलो कार्यकालमा संसदको सभामुख बनेका थिए ।

नेम्वाङ ६ फागुन २०७० देखि २७ असोज २०७२ सम्म दोस्रो कार्यकालका लागि पुनः सभामुख बनेका थिए । संविधानसभा निर्वाचनपछि दुवै संविधानसभामा नेम्वाङ अध्यक्षको भूमिकामा थिए ।वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने आगामी २८ फागुनमा सकिँदै छ । उनी २८ फागुन २०७४ मा राष्ट्रपति निर्वाचित बनेकी थिइन् ।

उपराष्ट्रपतिको पदावधि ३ चैतमा सकिनेछ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ ।देशको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव तथा उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए । यस्तै, तेस्रो पटकसमेत २०७४ सालमा भएको निर्वाचनमा राष्ट्रपति पदमा भण्डारी र उपराष्ट्रपतिमा पुनः दोहोरिएका थिए । त्यसबखत राष्ट्रपति पदको निर्वाचन २०७४ फागुन र उपराष्ट्रपतिको निर्वाचन चैतमा भएको थियो ।राजधानी दैनिकमा खबर छ ।