राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्री प्रचण्डलाई बुझायो ७ बुँदे ज्ञापनपत्र

काठमाडौं, ३ जेठ ।  राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्रीलाई भेटी ७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा नेपालमा विभिन्न संचार गृहहरुमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरुको हक हितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त होस् र फोटो संग्राहलयका लागि जग्गा भवन उपलब्ध गराईदिन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जिविकाउपार्जन गर्ने सम्पूर्ण पत्रकारहरुको बिमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटो पत्रकार विधा समावेश गरि फोटो पत्रकारहरुलाई पनि योगदानको आधारमा राष्ट्रले सम्मान गरोस्’  ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, फोटो पत्रकारहरुलाई व्यवसायिक, मर्यादित बनाउनको लागि विभिन्न ट्रेनिङ दिन वार्षिक रुपमा बजेट नियमित उपलब्ध गराउन र समय अनुसार अपडेट रहन फोटो पत्रकारहरुलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले फोटो पत्रकारहरुका माग जायज भएको बताउँदै माग पुरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिए । ‘मागहरु जायज रहेका छन् त्यति ठूला र गर्न नसकिने माग छैनन् यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले भने।