आँबुखैरेनीमा निर्माण गरिएको नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुलमा साहसिक खेल सञ्चालन गरिने

तनहुँ- जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ मा पर्ने समस्तीपुर र बरडाँडालाई जोड्ने गरी खुदी खोलामा निर्माण गरिएको नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुलमा साहसिक खेल सञ्चालन गरिने भएको छ । स्थानीय खुदीखोलाको सतहबाट दुई सय ७५ मिटर उचाइमा रहेको यस पुलमा एडभेन्चर स्पोर्ट्स खेलको रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका कार्यालयले जनाएको छ । उक्त पुलसम्म जाने सडकको स्तरोन्नति गर्दै बञ्जी जम्प, जीपलाइन लगायतका साहसिक खेलका रूपमा विकास गर्न डिपीआरको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

“यसको सम्भाव्यता अध्ययन गरेर थप साहसिक खेल जोड्नका लागि तयारी गरिहेका छाँै”, उहाँले भन्नुभयो, “यसको विकाससँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।” उक्त पुलको आडैमा रहेको गिरानचौरको गुरुङ बस्तीलाई पर्यटकीय गाउँका रूपमा विकास गर्न गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरिसकेको छ ।

सोही स्थान नजिकै रहेको आँधीमूल मन्दिरमा तालसहितको आँधीमूल निर्माण गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त स्थानमा पर्यटन प्रवर्द्धन गर्न सकिए त्यस क्षेत्रका नागरिकलाई आर्थिक क्षेत्रमा सबल बनाउन सकिने विश्वास गरिएको उहाँले बताउनुभयो ।

दुई सय २० मिटर लामो यो पुल बनेसँगै यहाँका स्थानीय बासिन्दाले एक घण्टाको दूरी दुई मिनेटमा नै पार गर्न सक्ने भएका छन् । खुदी खोलाको खोल्सा वरिपारि रहेका यी दुई गाउँबीच मेलापात र लेनदेन हुँदै आए पनि आवातजावत गर्न घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेकामा पुल बनेपछि सहज भएको छ ।

तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा मानिएको समस्तीपुरका कृषकले यसअघि बरादी बजारसम्म उत्पादित वस्तु ढुवानीका लागि समस्या खेप्दै आएका थिए । दुई गाउँलाई जोड्ने गरी अग्लो स्थानमा पुल बनेसँगै पछिल्लो समय यहाँ घुम्न र फोटो खिचाउन आउनेको आकर्षण बढ्दै गएको छ । यो पुल पर्वत कुस्मामा रहेको पुलको उचाइभन्दा एक सय नौ मिटर अग्लो र मनाङको नासो गाउँपालिकास्थित ड्रोनाखोलाको पुलभन्दा एक सय ३७ मिटर कम उचाइमा रहेको छ ।

नेपालमा सबैभन्दा अग्लो पुल मनाङको नाचे गाउँ र थोचेँ गाउँ जोड्ने पुल हो । यो पुल सतहबाट चार सय १२ मिटर उचाइमा रहेको छ ।