बीसवर्षे सार्वजनिक सवारीसाधन पत्रु गर्ने प्रदेशको निर्णय अव्यावहारिक छ – यातायात व्यवसायी

काठमाडौँ-यातायात व्यवसायी र विभिन्न मजदुर सङ्घ सङ्गठनले यान्त्रिक रुपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र विभिन्न सङ्घ सङ्गठनले एक विज्ञप्ति जारी गरी बागमती प्रदेशले बीसवर्षे सार्वजनिक सवारीसाधन पत्रु गर्नेसम्बन्धी सूचना प्रकाशन गरेको भन्दै यान्त्रिक रुपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्ने बताएका हुन् ।

महासङ्घका महासचिव डेकनाथ गौतमले प्रदेश सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी यही जेठ ७ गते २० वर्षे सवारीसाधन हटाउने निर्णय गरेको भन्दै उक्त निर्णय अव्यावहारिक भएको बताए । “सवारीसाधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न ठीक सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्छ, फलामको कुनै आयु हुँदैन, सञ्चालन गर्न ठीक नभएका सवारीसाधनलाई मात्र हटाउनुपर्छ”, उनले भने ।

व्यवसायी र सङ्घ सङ्गठनले एकैपटक २० वर्ष पुराना सार्वजनिक सवारीसाधन हटाउँदा राज्यको ठूलो रकमसमेत नयाँ गाडी खरिदका लागि विदेश जाने बताएका छन् । पत्रु नै गर्ने हो भने ‘ब्ल्यु बुक’का आधारमा अर्को सवारीसाधन ल्याउने विकल्प दिँदै सरकारका तर्फबाट सहुलियत र सहयोग हुनुपर्ने बताइएको छ ।

यस्तै, सवारीसाधनको अवस्था अध्ययन गरी उपयुक्त सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्ने व्यवस्था गर्नुपर्ने बताइएको हो । विज्ञप्तिमा नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, नेकपा (एमाले) निकट नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राई, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसीले हस्ताक्षर गरेका छन् । उनीरुले प्रदेश सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको सम्बन्धमा गरेको निर्णय तत्काल सच्याउनसमेत मागसमेत गरे ।