सेनाका लागि हतियारको एलसी खोल्न बैंकद्वारा अस्वीकार

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिने शान्ति सेनाका लागि ६ अर्ब रूपैयाँबराबरको सैनिक सामग्री खरिद गर्ने तयारीका लागि नेपाली सेनाले प्रतीतपत्र (एलसी) खोल्न लाग्दा हिमालय बैंकले अस्वीकार गरेको छ ।

कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट सेनाले हतियार खरिद गर्न लागेको भन्दै हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको हो ।चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को) बाट ६ अर्ब रूपैयाँबराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिदका लागि एलसी खोल्न यही जेठ ३ गते नेपाली सेनाका अधिकारी सो बैंकमा पुगेका थिए ।

नोरिन्कोलाई संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको थाहा पाएपछि हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको स्रोतको दाबी छ ।नेपाली सेनाले चीनबाट सैन्य सामग्री खरिद गर्न लागेको विषयमा जिज्ञासा राख्दा सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख सैनिक प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले अनभिज्ञता प्रकट गरे ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।सैन्य सामग्री तथा हतियार खरिदका लागि सेनाले विगतदेखि नै सरकारसँग लबिङ गर्दै आएको छ ।