कांग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिँदै

काठमाडौं । संसद्को सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि भुसको आगोझैं सल्किँदै गएको छ ।

पार्टीका महामन्त्री गगनकुमार थापाका पछिल्ला अभिव्यक्ति, पार्टी जिम्मेवारी नपाएका युवा नेताहरूले चलाएको रूपान्तरण अभियान र सभापति शेरबहादुर देउवाको कुरा नसुन्ने प्रवृतिका कारण कांग्रेसमा असन्तुष्टि चुलिँदै गएको हो ।

पार्टीको आन्तरिक असन्तुष्टिलाई छलफलका माध्यमबाट समाधान गर्नेतर्फ सभापति शेरबहादुर देउवाले चासो देखाउनुभएको छैन भने महामन्त्री थापा सभापतिको विरुद्धमा भाषण गर्दै हिड्नुभएको छ । त्यस्तै, केही केन्द्रीय सदस्यसहित पार्टीको जिम्मेवारीमा नरहेका अधिकांश युवा नेताहरू देशव्यापी अभियानमा छन् ।

नेतृत्वलाई पार्टी रूपान्तरणको खाकाका सम्बन्धमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सभापति देउवाले एकातिर सुनेर अर्कोतिरबाट उडाउने काम गरेको कांग्रेस रूपान्तरण अभियानका नेता गुरुराज घिमिरेले आरोप लगाउनुभयो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

सभापतिको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘नेपाली कांग्रेसको रूपान्तरण सभापति देउवाबाट सम्भव छैन । हामीले पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा उहाँले सुन्नै चाहनुभएन । त्यसैले हामी अभियानबाटै उहाँलाई सच्याउन सकिन्छ भनेर लागेका हौं । उहाँ सच्चिनुभएन भने सक्किन तयार हुनुपर्छ ।’