निकेशको ‘अ सोल्जर’लाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ, १८ असार । युद्धको मैदानमा विजेता भएर मेडल जितिसकेका निकेश लिम्बूको दिनचर्या फेरिएको छ । लडाईं त लडिरहेका छन्, तर साहित्यमा । लन्डन फिल्म एकेडेमीबाट छ महिने फिल्म मेकिङ कोर्स सकाएर निकेशले निर्माण गरेको सर्ट फिल्म ‘अ सोल्जर’ ले अहिले फिल्मकर्मीको मन जितिरहेको छ । विश्वका फिल्म हेरेर उत्कृष्ट घोषित हुने फेस्टिभलमा निकेशले देखाएको सैनिकको कथा प्रिय बनिरहेको छ ।

‘म आफैँ सैनिक भएकोले पनि मैले यसलाई त्यही मर्मअनुरुप तयार गरेको छु । सायद यसलाई सैनिकसँग नजिक पाएर पनि होला, मन पराउनु भएको छ,’ निकेशले भने । उनी यसका निर्देशक हुन् । ‘अ सोल्जर’ मा एक सिपाहीको कथा भनिएको छ । कर्तव्य पुरा गर्न परिवार भन्दा टाढा रहेको सिपाहीको श्रीमती गर्भवती छिन् । यद्यपि सिपाहीको कर्तव्य र जिम्मेवारी पुरा गर्न परिवार र जन्मथलोलाई मनमा संगाल्दै युद्धको मैदानमा आफूलाई बलियो बनाएको छ ।

११ मिनेट लामो सर्ट फिल्म ‘लिफ्ट अफ ग्लोबल नेटवर्क सेसन्स २०२३’ पाइनउड स्टुडियो लन्डनमा फाइनालिस्ट हुनका साथै अडियन्स च्वाइस अवार्ड जितेको थियो भने फ्रान्समा आयोजित ‘ब्रिज अफ पिस इन्टरनेशनल फिल्म अवार्ड २०२३’ मा अडियन्स च्वाइस अवार्ड र संयुक्तराज्य अमेरिकाको लस एञ्जल्समा सम्पन्न ‘एसियन फिडब्याक फिल्म फेस्टिभल २०२३’ मा छनौट भएको थियो ।

पहिलो सर्ट फिल्मले पाएको सफलतासँगै एक सैनिकको पारिवारिक जिम्मेवारी, देश प्रतिको कर्तव्य र युद्ध भूमिका मनोविज्ञानलाई विश्वमा देखाउँन पाउँदा निकेश उत्साहित छन् ।  फिल्म ‘हसियाँ’ मार्फत सह निर्माताको रुपमा उदाएका निकेश त्यसयता फिल्म निर्माणमा समेत सक्रिय छन् । बेलायतमा बसोबास गर्ने निकेश पेसाले ब्रिटिस आर्मी रहिसकेता पनि उनको रूची कला क्षेत्रमा उत्तिकै छ । उनी निर्माण, निर्देशन र फोटोग्राफीमार्फत परिचित छन् ।

उनले सामाजिक सञ्जालमा आफूले खिचेका तस्विर राख्छन्, जसले उनको रूची र क्षमतालाई प्रस्ट्याएको छ । उनी हालै रोयल एअरफोर्ससँग जोडिएका छन् । त्यहाँ मेडिया विभागमा रहेर काम गर्ने उनी पहिलो नेपाली हुन् । ।

‘आफ्नो रूचीको क्षेत्र फोटोग्राफीसँग सम्बन्धित रहेर काम गरिरहेको छु । रोयल एअरफोर्ससँग जोडिन पाउँदा उत्साहित छु’, निकेशले भने । फिल्म निर्माताको रुपमा समेत उनले सामाजिक संदेश प्रवाह गर्ने गरेका छन् । उनले निर्माण गरेको फिल्म ‘रातो घर’ले नेपालको पूर्वी बोर्डरमा हुने घटनालाई चित्रण गरेको थियो भने ‘ब्लाइन्ड रक्स’मा उनले आफ्नो दुई वटै आँखाको ज्योती गुमाएकी दृष्टिबिहिन सृष्टी केसीको जीवनीलाई उतारेका थिए ।

यिनले निर्माण गरेको फिल्म ‘हृदय भरी’ मा भने प्रदर्शनको पर्खाइमा छ । निकेशको सर्ट फिल्म ‘अ सोल्जर’ मा सगर सुब्बा र ममता देवान सुब्बा मुख्य भूमिकामा छन् ।

यसमा सम्पादन र भीएफएक्स गौतम राज खड्का, रंग संयोजन राम प्रसाद चौधरी, साउण्ड डिजाइन एण्ड मिक्सिङ्ग मनोज राजवाहक, ब्याकग्राउण्ड स्कोर सुजील कर्माचार्य, छायांकन निर्देशक राजदीप राई र निर्माण ज्ञानेन्द्र राउतले गरेका छन् । यसको निर्देशनसँगै लेखन निकेशले गरेका हुन् । यसको पोस्ट प्रोडक्सनको काम बिजी बिमा भएको हो ।

सर्ट फिल्म ‘अ सोल्जर’ लाई आउँदो नोभेम्बरमा ओटीटीमार्फत् सार्वजनिक गर्ने तयारीमा निकेश छन् । ‘अहिले पनि विभिन्न अवार्डमा सहभागी हुने क्रम निरन्तर छ, त्यसैले नोभेम्बरमा यसलाई ओटीटीमार्फत सार्वजनिक गर्दैछु,’ उनले भने । उनले सर्ट फिल्म पश्चात फिचर फिल्म निर्देशनको सोच रहेको समेत जानकारी दिए । ‘अहिले सुरुआत भएको छ, यो यात्रा अगाडि बढ्ने नै छ,’ उनले भने ।