रोकिएन ‘असारे विकास’ : जनप्रतिनिधिहरूले कार्यकर्ता पाल्नकै लागि गर्छन् असारमा विकास

सिरहा २५ असार । आर्थिक वर्षको अन्त्यमा हतारहतार बजेट सक्नेगरी हुने विकास निर्माण गर्ने ‘असारे विकास’ को बेथिति चालु आर्थिक वर्षमा पनि रोकिएन । स्थानीय तहहरूमा वर्षको ११ महिना सुस्ताए बसेका जनप्रतिनिधि र कर्मचारीहरूलाई आर्थिक वर्षको अन्त्यमा भ्याइनभ्याइ खर्च हुने प्रवृत्ति रोक्न नसक्दा चालु आर्थिक वर्षमा पनि असारे विकासले निरन्तरता पाएको हो ।

अपादर्शी ढंगले काम गर्न पल्केका स्थानीय जनप्रतिनिधिले अन्तिम समयमा स्थानीय उपभोक्तालाई दवावमा पारेर काम गर्न असार महिना रोज्ने गरेको आरोप लाग्ने गरेको छ । जनप्रतिनिधिले अन्तिममा काम गराउँदा स्थानीय उपभोक्तालाई ‘ठेक्केदारमार्फत् काम नगराए बजेट फ्रिज हुन्छ’ भन्दै कार्यकर्ता र आफन्तलाई जिम्मा लगाएर काम गर्न असारे विकास रोजेको बताइन्छ ।

स्थानीय कर्मचारी तथा उपभोक्ता समितिलाई प्रभावमा पारेर जनप्रनिधिहरूले नामकै लागि उपभोक्ता समिति गठन गरे पनि काम भने अन्तिम समयमा कार्यकर्ता र आफन्तमार्फत् धेरै पालिकाहरूले विकासक निर्माणका काम गराइरहेका छन् । यसको एउटा उदाहरण सिरहाको लहान लगरपालिकाका– १ मटियरवा देखि कृष्णा टोलसम्म गरीएको आरसीसी ढलान पनि हो ।

यस कार्यका लागि बेचु चौधरीको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन भए पनि काम भने शम्भु चौधरीले गराएका थिए । नगरपालिकाले वडा नम्बर १ मटियरवादेखि कृष्णा टोलसम्म गरिएको आरसीसी ढलान र नाला निर्माणको लागि ६० लाखको विनियोजन गरेको थियो ।

आरसीसी ढलान, पक्की नाला तथा पीसीसी ढलान गरिएको साईड इन्जिनियर सुशील मन्डलले ‘छेदी चौधरीको घरदेखि पूर्व कपलेश्वर यादवको घरसम्म २ सय ८७ मिटर लम्बाइ र ६ मिटर चौडाइमा आरसीसी ढलान र १ सय २९ मिटर पक्की नाला निर्माण कार्य भर्खरै सम्पन्न भएको जनकारी दिए । उनले भने, ‘यो योजना आरसीसी ढलानकै थियो । पछि नाप जाँच गर्दा ६ मिटर चौडाइ गर्नुपर्नेमा कुनै ठाउँमा ४, ५ र कुनै ठाउँमा ६, ७ सम्म मात्रै पुगेकोले बाँकी रहेको रकमलाई फ्रिज नहुनदिन पीसीसी ढलान गरेको हो ।’

उनले भने, ‘नाला निर्माण र आरसीसी गराउँदा एभरेजमा लम्बाइ र चौडाइ कम भएपछि करिब ९ लाख रुपैयाँ बराबरको क्वानटिटी घटियो । त्यसैलाई पुरानो बाटोमा ग्राभेल भएकै थियो । सोही बाटोमा पीसीसीको योजना नगरले बनायो ।’

नाला निर्माण तथा सडक ढलानको लागि गरिएको बजेट विनियोजनमा व्यापक अनियमितता भएको स्थानीयहरू बताउछँन् । यो नगरपालिकामा करिब ४० प्रतिशत विकाश निर्माणको काम असारमा भएको स्रोतको दावी छ ।

नगरपालिकामा नगरप्रमुखले भनेकै कन्सट्रक्सनले ठेक्का पाउने र उनकै आसेपासेहरू उपभोक्ता समितिमा बस्न पाउने कार्य भइरहेको नाम नखोल्ने सर्तमा एकजना स्थानीयले जानाकारी दिए।

नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिहरूले असारमा योजना ल्याउने पूर्व बनेको योजनालाई कार्यकर्तामुखी बनाउने तथा आफन्त र नजिककाहरूबाट काम गराउने प्रवृतिले पनि असारे विकासमा व्यापक अनियमितता भएको पुष्टि गर्छ ।