१०० किलो सुन  तस्करीमा संलग्न थप जना तीन पक्राउ

काठमाडौँ-राजस्व अनुसन्धान विभागले झण्डै एक सय लो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गाे कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताउनुभयो ।

बिहीबार पक्राउ गरिएका तीनै कार्गाे तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन । उहाँका अनुसार बिहीबारसाँझ पक्राउ परेका तीनसहित अहिलेसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परेका छन् ।

त्यसमध्ये छ जनालाई   उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । बिहीबार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने भोलि म्याद थप गरिने जनाइएको छ ।  पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।