स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा

जाजरकोट । भूकम्पले स्वास्थ्य चौकी क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा प्रवाह दिन थालिएको छ । विनाशकारी भूकम्पले स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा प्रवाह गर्न थालिएको हो ।

कातिक १७ गते मध्यरातमा गएको भूकम्पले जाजरकोट अस्पताल, बारेकोट, कुशे, भेरी, नलगाड, जुनीचाँदे लगायतका स्थानमा रहेका स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएका छन् । भूकम्पले स्वास्थ्य चौकीका भवन क्षतिग्रस्त भएपछि सामान्य, जटिल रोगका विरामी ,गर्भवती, सुत्केरी महिला समस्यामा परेका छन् ।

बारेकोट गाँउपालिकाको प्रशासनिक केन्द्र लिम्स प्रस्तावित आधारभूत अस्पताल सहित बर्थिङ सेन्टर पूर्ण रुपमा क्षतिग्रत भएपछि प्रसुति सेवा टेन्टबाट दिन थालिएको छ । स्वास्थ्य चौकी, अस्पतालका भवन पूर्ण रुपले क्षतिग्रस्त भएपछि सवै सेवा टेन्टबाट दिन थालिएको बारेकोट गाँउपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकायले जानकारी दिए ।

जाजरकोट अस्पतालका फोकल पर्सन कृष्णबहादुर खत्रीका अनुसार जाजरकोट अस्पतालका ८,नलगाड नगरपालिकामा रहेको दल्ली अस्पताल ३, बारेकोट लिम्सा स्थित प्रस्तावित आधारभूत अस्पताल सहित बर्थिङ सेन्टर,कुशे गाँउपालिकामा ५ वटा गरी १७ बटा भवन र शौचायल पूर्ण क्षतिग्रस्त भएका छन् ।

भेरी नगरपालिकामा ८, नलगाड नगरपालिकामा ५, शिवालय गाउँपालिकामा ३ ,छेडागाडमा ५, बारेकोटमा ४ वटा कुशे गाँउपालिकामा १३, जुनीचादे गाँउपालिकाम ११ वट गरी ६० वटा भवन आंशिक क्षति भएको खत्रीले जानकारी दिए ।

बारेकोट गाँउपालिका स्थित प्रस्तावित आधारभुुत अस्पतालले त्रिपालबाट सुत्केरी सेवा दिएको छ । बर्थिङ् सेन्टर क्षतिग्रस्त भएपछि सुत्केरी सेवा त्रिपालबाट दिएको छ । बारेकोट गाँउपालिका ३ की सुनिता वस्तेत सुत्केरी व्यथा लागेर प्रस्तावित आधाभूत अस्पताल आउनु भएकी बस्नेतले टेन्टमै छोरीको जन्म दिएकी छन् ।