ओटिसी बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता शेयर किनबेच

काठमाडौँ-गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको सङ्ख्या दुई सय छ वटा छ ।

दर्ता भएका कम्पनीमध्ये गत आर्थिक वर्ष ८४ वटा कम्पनीको शेयर रू दुई अर्ब ८५ करोड ८४ लाख १९ हजार आठ सय ८६ बराबरको कारोबार भएको हो । ओटिसी बजारमा भएको कारोबारबाट गतवर्ष रू पाँच करोड २९ लाख ५५ हजार नौ सय ८० बराबरको पुँजीगत लाभकर प्राप्त भएको पनि नेप्सेले जनाएको छ । ओटिसी बजारमा काठमाडौँ फरेस्ट्री कलेजको सबैभन्दा धेरै प्रतिकित्ता रू एक हजार एक सय २५ मा दुई हजार दुई सय २२ कित्ता शेयर खरिदबिक्री भएको छ ।

ओटिसी बजारमा शेयर कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु एक सयका दरले किनबेच भएको देखिन्छ । नेपाल स्टक एक्सचेञ्जले ओटिसी बजारको अवधारणा विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको थियो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक शर्त पूरा हुन नसेका पब्लिक कम्पनीको शेयर कारोबार तथा नामसारी नेप्सेले ओटिसी बजारमार्फत् गर्दै आएको छ ।