रक्षामन्त्री खड्काद्वारा मध्यएयर वेश भ्रमण

काठमाडौँ-उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौचरणस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर वेशको निरीक्षण भ्रमण गर्नुभएको छ ।उहाँलाई मध्यएयर वेशमा प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो ।उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थितिलगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराउनुभयो ।

सोही अवसरमा रक्षामन्त्री खड्काले मध्यएयर वेशमा रहेका सैनिक हवाई साधन तथा अन्य महत्त्वपूर्ण उपकरणको अवलोकन गर्नुभयो । उहाँले सैनिक हवाई सेवाबाट विपद् उद्धार, विकास निर्माणलगायतका क्षेत्रमा सम्पादन भएका कार्यको उच्च प्रशंसा गर्नुहुँदै आगामी दिनमा उच्च मनोवलका साथ कार्य गर्न निर्देशनसमेत दिनुभयो ।

भ्रमणकै क्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको अध्यक्षतामा नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २५औँ बैठकसमेत सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।त्यस अवसरमा रक्षा सचिव किरणराज शर्मा, बलाधिकृत रथी सरोज प्रताप राणाउच्च पदस्थ पदाधिकारीलगायत सैनिक हवाई सेवाका अधिकृतको सहभागीता थियो ।