प्रधानमन्त्री दाहालको निर्देशनलगत्तै विपद् व्यवस्थापनमा चुस्त भएर लाग्न देशभरका प्रहरी युनिटमा सर्कुलर

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनलगत्तै नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका ७७ वटै जिल्ला तथा मातहतका प्रहरी युनिटलाई विपद् व्यवस्थापन, खोज तथा उद्धारलगायत कार्यमा चुस्तरुपमा लाग्न सर्कुलर पठाएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बिहान प्रधानमन्त्रीबाट निर्देशन आए लगत्तै मातहतका सबै युनिटहरुमा सर्कुजल जारी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न जिल्लामा बाढीपहिरोले धनजनको क्षति भएको र केही मानिस बेपत्ता भएको जानकारी आएको बताउँदै प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा प्रहरी टोली सक्रियताका साथ लागिरहेको बताउनुभयो ।

“खोज तथा उद्धारलगायतका विपद् व्यवस्थापनमा कुनै कमी हुन नदिन र नागरिकको जीउज्यान जोगाउने कार्यलाई पहिलो प्राथमिकतामा राख्न भनेर मातहतका प्रहरी कार्यालयमा सर्कुलर पठाइसकेका छौँ, घटनास्थलमा खोजी तथा उद्धार जारी छ, सावधानी, सचेतनाका विषयमा पनि सचेत गराइएको छ”, महानिरीक्षक कुँवरले भन्नुभयो ।

आज बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक कुँवरलाई वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति सचेत हुँदै विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो । उहाँले खोज, उद्धार, राहत र पुनःस्थापनाका काममा सक्रिय हुन पनि निर्देशन दिनुभएको थियो ।

गृह मन्त्रालयका अनुसार मकवानपुरलगायत केही जिल्लामा मानवीय क्षति भएको छ । मकवानपुरमा एक जनाको मृत्यु र छ बेपत्ता भएका छन् । पहिलो प्राथमिकता मानवीय सुरक्षा रहेको जनाउँदै गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले क्षतिको विवरण आइनसकेको बताउनुभो । अहिले उद्धारमै सबैको ध्यान रहेको उहाँको भनाइ छ ।

अन्य धेरै जिल्लाका नागरिकलाई वर्षाले प्रभावित बनाएको छ । बिहान काठमाडौँ उपत्यका सहितका क्षेत्रमा डुवानको समस्या पनि देखिएको थियो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक, कालीगण्डकी कोरिडोर, मध्यपहाडी राजमार्ग, कान्ति लोकथप, मदनभण्डारी मार्गलगायत धेरै राजमार्गमा सवारीसाधन आवागमन प्रभावित भएको छ ।