महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न अस्पताललाई आग्रह

चितवन, २६ साउन :- जिल्लामा रहेका सरकारी, निजी र सामुदायिक अस्पताल तथा प्रयोगशालाहरूलाई महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय चितवनले यस्तो आग्रह गरेको हो । मौसम परिवर्तनसँगै जिल्लामा डेङ्गु, आँखा पाक्नेलगायतका रोगको तथ्याङ्कलाई छिटो छरितो ढङ्गबाट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन आग्रह गरिएको हो । कार्यालयले आज यहाँ जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पताल एवं प्रयोगशालाका प्रमुख एवं प्रतिनिधिलाई डाकेर सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले छिटो छरितो सूचना सम्प्रेषण गरिदिन आग्रह गरेको हो ।

सो अवसरमा कार्यालयका निमित्त प्रमुख इन्द्रमणि भण्डारीले मलेरिया, डेङ्गु, स्क्रबटाइफस, जापानिज इन्सेफ्लाइटिस, कोभिड जस्ता रोगहरू फैलिइरहेकाले महामारीको रूप लिन सक्ने भन्दै नियमित सूचना दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नियमित रिपोर्टिङले तथ्याङ्क सङ्कलन र विश्लेषण गर्न सहज हुन्छ ।” सरकारी तथा निजी क्षेत्रबाट प्रभावकारी रिपोर्टिङ नहुँदा महामारी नियन्त्रणमा समस्या हुन सक्नेतर्फ उहाँले सचेत गराउनुभयो । उहाँले थप्नुभयो, “रोगको नियन्त्रणसँगै रोकथामका लागि समेत नियमित रिपोर्टिङ आवश्यक छ ।”

अहिले दिइँदै आएको सूचनालाई अझै प्रभावकारी बनाउन सके प्रभावित क्षेत्रको पहिचान र त्यहाँ हुन सक्ने समस्या समाधानमा सरकारको ध्यान पु¥याउन सहज हुने कार्यालयका सूचना अधिकारी राम केसीले बताउनुभयो । अहिले हप्ता÷पन्ध्र दिनमा तथ्याङ्क र जानकारी आउने गरेको भन्दै दैनिकरूपमा पठाउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “समन्वयको कमीका कारण प्रभावितले समयमा उपचार नपाउने समस्या आउन सक्छ ।” अहिलेको समय किटजन्य रोगको समय भएकाले सबै अस्पताल, प्रयोगशालाहरूलाई सतर्कताका साथ तथ्याङ्क समयमा पठाउन उहाँले आग्रह गर्नुभयो ।

निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले अहिले भइरहेको रिपोर्टिङलाई नियमितरूपमा व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो । भदौ र असोजमा जिल्लामा डेङ्गुको सङ्क्रमण फैलने गरेको भन्दै उहाँले सबैको सहयोगले मात्र नियन्त्रण सम्भव रहेको बताउनुभयो ।

जिल्लामा हाल उपचारका लागि आएका मध्ये ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ । पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ठेगाना नखुलेका छ र जिल्लाबाहिरका १७ जना रहेको केसीले जानकारी दिनुभयो ।