कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्छु : प्रमुख सचेतक लेखक

महेन्द्रनगर (कञ्चनपुर)- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताउनुभएको छ ।

बाढी र डुबानको चपेटामा रहेको कुतियाकवर सीमा बस्तीको स्थलगत अनुगमनका क्रममा बिहीबार त्यहाँ पुग्नुभएका पूर्वमन्त्री लेखकले नेपाल–भारत सीमासित जोडिएको भूमि भएकाले भूमि जोगाउनका लागि पनि तटबन्ध निर्माण अति आवश्यक रहेको बताउनुभयो ।

महाकाली र जोगबुढा नदीको किनारको बस्ती भएकाले कुतियाकवर बाढी र कटानको समस्याबाट ग्रसित रहेको उहाँको भनाइ छ । “निर्वाचनका बेला बाँध निर्माण गर्ने चुनावी एजेण्डा पनि थियो”, नेता लेखकले भन्नुभयो, “तटबन्ध निर्माणको ठेक्का भइसकेकोले आगामी हिउँददेखि यहीँबाट निर्माण सुरु हुन्छ ।”

उहाँले नदीमा पानी बढेको र निर्माण सामग्री ल्याउनसमेत कठिनाइ भएकाले अहिले तत्कालका लागि अस्थायी तटबन्ध बनाएर बस्ती जोगाउन पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस विषयमा सरोकारवाला निकायसित पनि छलफल गर्नेछु ।” विसं २०२२ देखि बसोबास रहेको कुतियाकवरमा हाल ४२ परिवारको बसोबास रहेको छ । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि पहिलो पटक सो बस्ती नगरका अन्य क्षेत्रसित जोडिएको थियो ।