गाइजात्रे कोसेली ‘दिल्लीको मुर्रा’मा नेताहरुलाई ब्याङ्ग्य

काठमाडौंँ । ‘गाईजात्रा’ हास्य र ब्याङ्ग्यको पर्व हो । यो पर्वलाई लक्षित गर्दै बजारमा बिभिन्न हास्य ब्यङ्ग्यका सामाग्री बजारमा भित्रिने गरेको छ ।यस्तै १४ भदौमा परेको गाइजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरी र अजय शाह ठकुरीले कमेडी कोसेली ‘दिल्लीको मुर्रा’ सार्वजनिक गरेका छन् । राजनीतिक, आर्थिक, सामाजिक लगायत बिभिन्न बिषयबस्तु समेटिएको ‘दिल्लीको मुर्रा’मा देशमा बर्षभरि घटेका बिषयबस्तुमाथि चेतनात्मक रुपमा ब्याङ्ग्य प्रस्तुत गरिएको छ ।

‘गाईजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको वेथिति विसंगती प्रति ब्याङ्ग्य गर्नु हो’, आशिषले भने ‘त्यहि पेरिफेरिमा रहेर यो पटकको गाईजात्रा तयार गरेका छौँ ।’पछिल्लो समय रोजगारीका लागि कोरिया पुगेका आशिष र अजयले ‘दिल्लीको मुर्रा’ उतैबाट सार्वजनिक गरेका हुन् । रेडियो कान्तिपुरको हाँस्यव्यङ्ग्यात्मक कार्यक्रम ‘गज्जब छ बा’, कान्तिपुर टेलिभिजनको हास्य सिरियल ‘ट्वाक्क टुक्क रिर्टन्स’ लगायत थुप्रै सिरियल र स्टेज कार्यक्रममा अनुभव भएका आशिष र अजयको यो कोसेलीमा सहकार्य एकदमै गजवको रहेको छ ।

‘दिल्लीको मुर्रा’को छायांकन अजय शाह र सम्पादन आशिष आफैले गरेका छन् । करिव १७ मिनेटको भिडियो सहितको ‘दिल्लीको मुर्रा’ मा उल्लेखित व्यङ्ग्यात्मक प्रस्तुतिले दर्शक तथा श्रोताको मन जित्ने विश्वास आफुलाई रहेको आशिषले बताए । भिडियो अनलाईन चौतारी नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।गतबर्ष आशिषले ‘बालकोटको बार्दली’ नामक कमेडी कोसेली सार्वजनिक गरेका थिए ।