जुम्लाको सिञ्जामा केदारनाथ महोत्सवको तयारी

जुम्ला, ६ भदौ- सिञ्जा गाउँपालिकाको आयोजनामा यही भदौ १० देखि १२ गतेसम्म सञ्चालन हुने ऐतिहासिक धार्मिक तीर्थस्थल केदारनाथ महोत्सवको तयारी पूरा भएको छ । पालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँपालिका–४ स्थित बुदबुदी बारेमा सम्पन्न हुने महोत्सवको भव्य रुपमा सफल पार्न तयारी र प्रचारप्रसारको कामलाई तीव्र गतिमा अघि बढाइएको छ ।

महोत्सवको सबै काम करिब सम्पन्न भइसकेको उहाँले बताउनुभयो । सिञ्जा नेपाली भाषाको जन्मथलोसमेत हो । पालिकाभित्र ओझेलमा परेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने र सिञ्जाको धार्मिक पर्यटन क्षेत्रमा केदारनाथ महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । अब हरेक वर्ष भदौ १० गतेका दिन केदारनाथमा धार्मिक मेलासमेत गरिने भएको छ ।

महोत्सवलाई सफल पार्न पवित्रस्थल केदारनाथ बुदबुदीमा गाउँ कार्यपालिकाको बैठक सम्पन्न भइसकेको छ । महोत्सवको थप व्यवस्थापन गर्न वडाध्यक्ष र कार्यपालिका सदस्यलाई जिम्मेवारीसमेत तोकिएको छ ।

जिल्लाकै ऐतिहासिक पवित्र धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने र राज्यको ध्यानाकर्षण गराउनका लागि बृहत् धार्मिक महोत्सव गर्न थालिएको हो । उक्त महोत्सवमा विभिन्न खस वेशभूषा, जुम्ली जैविक स्याउ, राडीपाखी लगायतका अन्य सामग्रीको अवलोकन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।