सेटिङबिना क्वीन्टका क्वीन्टल सुन भित्रिन सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन तस्करी हुने थाहा पाएपछि सरकारले कारबाही गरेको बताएका छन् ।

समाजवादी मोर्चाले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले सरकारले तत्कारीमाथि अंकुश लगाएको जिकिर गरे ।

‘नेपालको विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन भित्रिँदो रहेछ । त्यतिधेरै सुन सेटिङबीना भित्रिन सम्भव छैन’, उनले भने, ‘ठूलो मात्रामा विमानस्थलबाट सुन तस्करी भएको थाहा पाएपछि सरकारले कारबाही गरेको हो । सुन तस्करी नरोकेसम्म अर्थतन्त्र बलियो हुने छैन ।’

प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा सरकार कडा ढंगले अगाडि बढ्ने बताए । नक्कली शरणार्थी, ललिता निवास, सुन प्रकरण, मिटरब्याज समस्या हल गरी सरकारले सुशासन कायम गरी छाड्ने उनले प्रतिबद्धता जनाए ।