हामीहरू समाजवादको बाटोमा लागेका छौँ : पूर्वप्रम खनाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीको नेतृत्वका साथै माक्र्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने भएकाले आफूहरू समाजवादको बाटोमा रहेको बताउनुभएको छ ।

पार्टी निकट आदिवासी जनजातिको काठमाडौँ भेलामा उहाँले समाजवादको आवश्यकताबारे राष्ट्रव्यापीरुपमा जनतालाई जानकारी गराउन आफ्नो पार्टीले मेची महाकाली अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । आगामी असोज १४ देखि २९ गतेसम्ममा सो राष्ट्रिय अभियान सम्पन्न गर्ने कार्यतालिका रहेको बताउँदै उहाँले आफूहरू सही बाटोमा अघि बढ्नसके पार्टी पङ्क्तिभित्र विद्यमान भ्रमका बादल फाटेर जाने प्रष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा–एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय जनतालाई बुझाइने बताउनुभयो ।

सामाजिक रुपान्तरणका लागि समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिबारे उनीहरूसग छलफल गरिने बताउँदै उहाँले अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सार्मथ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एमाले अहिले पनि समाजवादमा जान सकिँदैन भन्ने पक्षमा रहेकाले एमालेसँगको मतभिन्तालाई प्रष्टसँग देख्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामी सँगसँगै विद्रोह गरेर आएका कतिपय साथीहरू पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने हो । विभिन्न जिल्लामा त्यस्ता घटना घटिरहेका छन् । तर हामीले एमालेका नेता तथा कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गराएका छौँ । अब एमालेभित्र पहिरो जाँदैछ ।”

नेता खनालले एमाले समाजवाद कार्यान्वयनमा इमान्दार नरहेकाले अहिले पनि दशौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेजमा केन्द्रित रहेको र जबज नै लक्ष्य लिएकाले त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप लगाउनुभयो ।