सहमहामन्त्री यादवमाथिकाे आक्रमणबारे छानविन गर्न सांसद लेखकको माग

काठमाडौँ, २१ भदौ : सांसद रमेश लेखकले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निष्पक्ष छानविन गर्नुपर्ने माग गर्नुभएको छ । उहाँले घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिनिधिसभाको आजको वैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “ज्यान मार्ने गरी आक्रमण गरिएको छ, घटना सामान्य छैन, गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु आगामी प्रतिनिधिसभाको वैठकमा घटनाबारे सम्पूर्ण विवरण प्रस्तुत गर्नुपर्छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नेपाली जनता सहमत छैनन भन्ने कृत्रिम भाष्य तयार गरिएको भन्दै वर्तमान व्यवस्थाबाट भाग्ने कसैलाई छुट नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्ना फरक मतहरु, फरक धारणाहरु, आफ्ना विचार शान्तिपूर्ण ढङ्गले राख्न सकिन्छ, लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता छ, तर आफूसँग असहमत हुने कुरा आफूसँग असहमत हुने विचारलाई निषेध गर्नका लागि खुकुरी कहिल्यै पनि विकल्प हुन सक्दैन, हत्या, हिंसा र आतङ्क कहिल्यै विकल्प हुन सक्दैन ।