अस्पतालमा देखिएका बेथितिलाई सुधार गर्दै अघि बढ्छौँ : स्वास्थ्यमन्त्री बस्नेत

चितवन, २६ भदौ ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल व्यवस्थापनमा देखिएको बेथिति रोक्दै अघि बढ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अस्पतालहरूको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अस्पतालको सुधारका लागि कसैसँग पनि झुक्दिनँ र कसैको कुरा मान्दिनँ । राम्रो काम गर्नुपर्छ ।” जनताको सेवाका लागि खोलिएका अस्पताल बेथितिबाट चल्न नहुने उहाँको भनाइ थियो । अस्पतालमा अहिले पनि २२ वर्षअघिको कर्मचारी दरबन्दी रहेको भन्दै उहाँले जनताको सेवाका लागि दरबन्दी थप गरिने बताउनुभयो ।

अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा चार जना चिकित्सक र चार जना नर्सले हेर्नुपर्ने बिरामी एक जनाले हेर्नुपर्ने बाध्यता रहेको जनाउँदै उहाँले सरकारले अस्पतालमा दरबन्दी थप गर्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “२२ वर्षअघि ३३ हजार कर्मचारी रहेकामा अहिले ३१ हजार छन् । यसले अस्पताल सञ्चालन र व्यवस्थापनमा समस्या हुन्छ । हामी दरबन्दी थप गर्ने तयारीमा छौँ ।” दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरिसकेको बताउँदै उहाँले थप्नुभयो, “अहिले आवश्यकताको एक चौथाइ कर्मचारीमात्रै छन् । यसलाई थप गर्दै जान्छौँ ।” अस्पतालहरूमा आवश्यक उपकरण र भौतिक संरचनाका लागि बजेट अभाव भएमा दातृ निकायको सम्मेलन गराएर भए पनि काम गर्ने उहाँको भनाइ थियो ।

आफू अहिले निःशुल्क स्वास्थ्योपचारको अभियानमा रहेको बताउँदै उहाँले पैसाको अभावमा उपचार नपाएर कुनै बिरामी मर्न नहुने बताउनुभयो । फरक प्रसङ्गमा बोल्दै उहाँले भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न आफू सकारात्मक रहेको बताउनुभयो । शिक्षण अस्पतालको रूपमा विकास गर्दैगर्दा भौतिक संरचना निर्माण हुन जरुरी रहेकाले यसतर्फ आफूहरू स्रोत जुटाउन लागिपरेको उहाँको भनाइ थियो ।

पत्रकारसँगको कुराकानीमा उहाँले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । चिकित्सा शिक्षा ऐन संशोधन हुन नसक्दा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी उत्पादन हुन नसकेको बताउँदै उहाँले यही अवस्था रहे नेपालमा पाँच वर्षपछि नर्स र चिकित्सक पाउनसमेत कठिन हुने बताउनुभयो । अहिले ऐन संशोधनको प्रक्रियामा हेको बताउँदै उहाँले भन्नुभयो, “देशभर बन्ध्याकरणजस्तो भएको छ, यसलाई खुकुलो पार्छौँ ।”
–––