क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्री खड्काको बधाई

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई एवं शुभकामना दिनुभएको छ ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सामाजिक सञ्जालमार्फत अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, सचिवमा निर्वाचित पारस खड्कासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

उहाँ शुक्रबारदेखि सुरु भएको क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो ।क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पदमबहादुर खड्का निर्विरोध हुनुभएको छ । महिला सदस्यमा जयन्ती भट्ट तथा सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णाली प्रदेशबाट श्रीधर केसी पनि सर्वसम्मत हुनुभएको छ । अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना र खुला पाँच सदस्यका लागि निर्वाचन भएको थियो ।