गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुला

काठमाडौं । नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० नेपाल राजपत्रमा प्रकाशित भएसँगै देशभरका जिल्ला प्रशासन कार्यालयबाट आमाको नाउँबाट र गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने बाटो खुलेको छ ।

मन्त्रिपरिषद्बाट पारित नागरिकता नियमावली गत बिहीबार साँझ राजपत्रमा प्रकाशित भएसँगै नागरिकतासम्बन्धी कानून पूर्ण रूपमा कार्यान्वयन गर्ने बाटो खुलेको हो ।

यसअघि बुबाको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बुबाको पहिचान नभएका व्यक्तिले अबदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका छन् । संशोधित नियमावलीमा बुबाको पहिचान नभएका व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेस गर्नु पर्ने र विदेशी मुलुकको नागरिकता नलिएको भनेर स्वघोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तो नागरिकता पाउने व्यक्तिको आमाको पनि मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्था भए, त्यसको प्रमाणसहित स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउनेछन् । स्वघोषणाको ढाँचा नियमावलीमा अनसूचीमा उल्लेख गरिएको छ ।

नियमावलीमा गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।