प्रम कार्यालयको भ्रष्टाचारविरोधी अभियान असफल,‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता लेखिएका बोर्ड नै गायब

काठमाडौं । साढे दुई वर्षअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका कर्मचारीलाई भ्रष्टाचार विरोधी बनाउन भन्दै एउटा विशेष अभियान ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीले सो अभियान ल्याउनुभएको थियो ।

अभियानअन्तर्गत प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्नुअघि हरेक कर्मचारीले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाउनुपर्ने थियो । त्यसका लागि प्रधानमन्त्री कार्यालयले मुख्य प्रवेशद्वारामा नै एउटा बोर्डमा केही सन्देश लेखेर टाँस्यो ।

हरेक कर्मचारीले त्यो बोर्डमा टाँसेको कुरालाई पढेर मनन गर्दै भित्र पस्नुपर्ने नियम लगाइयो । बोर्डमा लेखिएको थियो – ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार गर्न दिन्नँ र म कहिल्यै पनि भ्रष्टाचार नगर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

केही समय प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाए पनि मुलुकमा भ्रष्टाचारको पारोमा भने कमी आएन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारीहरू रंगेतहात पक्राउ गर्ने क्रममा पनि कमी नआएको प्रधानमन्त्री कार्यालयकै कर्मचारीहरूको भनाइ छ ।

प्रधानमन्त्री कार्यालयका त्यतिखेरका एक सहसचिवले सुरूका केही समय सो अभियान प्रभावकारी भए पनि पछि तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीले अभियान सफल बनाउने कार्यमा खासै ध्यान नदिएपछि अभियान असफल भएको बताए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।