सशस्त्रको मुख्यालयमा पहिलो पटक ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ स्थापना

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा पहिलो पटक पानी प्रशोधन तथा वितरणस्थल (वाटर ट्रिटमेन्ट प्लान्ट) निर्माण गरिएको छ । नवनिर्मित पानी प्रशोधन तथा वितरणस्थलको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उद्घाटन गर्नुभयो । उहाँले उक्त प्लान्टमार्फत तयार भएको पानी यसअघि प्रयोग हुँदै आएको भन्दा शुद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि प्लास्टिकका बोतल तथा जार खरिद गरी आपूर्ति हुँदै आएकामा त्यसलाई निरुत्साहित गर्दै पिउने पानीको गुणस्तरमा शुद्धता एवं विश्वसनीयता र खर्चमा मितव्ययीता कायम गर्ने अभिप्रायले मुख्यालयमा पहिलोपटक प्रशोधनस्थलको निर्माण गरी प्रयोगमा ल्याइएको सशस्त्र प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

मुख्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने उद्देश्यले सञ्चालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्ट विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधन गर्नेछ ।

प्रतिघण्टा एक हजार पाँचदेखि दुई हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको वाटर ट्रिटमेन्ट प्लान्टको मासिकरुपमा दक्ष प्राविधिकबाट जाँच गर्नुका साथै विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार भए, नभएकोबारे त्रैमासिक रुपमा उच्चस्तरीय प्रयोगशालामा परीक्षण गराउने व्यवस्था मिलाइएको छ ।

मुख्यालयभित्र वाटर डिस्पेन्सर, आवश्यकताअनुसार जार तथा जार सफा गर्ने मेसिनको व्यवस्था गरिएको छ । अब सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा बाह्य रुपमा पानी खरिद नगरिने भएको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण एकाईमा प्लास्टिकजन्य वस्तु निषेध गर्ने, केही प्लास्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने लक्ष्य अनुरुप वातावरण संरक्षण र सशस्त्र प्रहरी कर्मचारीमा सचेतना अभिवृद्धि गराइने जनाइएको छ ।