जुम्लाका सामुदायिक विद्यालयहरूमा महिनावारी आराम कक्ष निर्माण

जुम्ला, १७ असोज- जुम्लाका सामुदायिक विद्यालयहरूमा नमूनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष स्थापना गरेको त्यहाँका परियोजना संयोजक हेमराज भट्टाले जानकारी दिनुभयो ।

विद्यालयमा बालिका महिनावारी हँुदा पेट दुखेमा वा असजिलो भएमा सो कक्षमा आराम गर्न मिल्ने बताइएको छ । बालिकालाई महिनावारी भएको समयमा सजिलो होस् भन्ने उद्देश्यले उक्त कक्ष निर्माण गरिएको उहाँको भनाइ थियो । कनकासुन्दरी गाउँपालिकाको लुड्कुस्थित कनकासुन्दरी माध्यामिक विद्यालय, सिंजा गाउँपालिकाको मावि चुलेल गाउँस्थित महादेव मावि गुठी, हिमा गाउँपालिकाको मष्ठामाडूस्थित अन्नपूर्ण माध्यामिक विद्यालय, महावैपाथलखोलास्थित भानु माध्यामिक विद्यालयमा उक्त आराम कक्ष निर्माण गरिएका हुन् ।

यसैगरी कालिकोट जिल्लाको नरहरी नाथ गाउँपालिका–३ स्थित नन्दादेवी माध्यामिक विद्यालय र रुपादेवी आधारभुत विद्यालयसमेतमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ ।
उक्त कक्ष निमार्ण भएपछि छात्राहरूलाई महिनावारी कक्षमा सेनीटरप्याड बदल्नेदेखी आराम गर्न सहज भएको सिंजा गाउँपालिका–२ का वडाध्यक्ष तीर्थ वडुले बताउनुभयो ।
यो कार्यक्रम प्रभावकारी भएपछि ती विद्यालयको आराम कक्षका लागि आवश्यक सामग्री खरिदका लागि उक्त संस्थाले रकम उपलब्ध गराएको छ ।